चैनपुरका शिक्षकहरूले स्थानीय भत्ता माग गर्दै नगर प्रमुखलाई बुझाए मागपत्र
रमा राई / चैनपुर
स्थानीय भत्ता पीडित शिक्षक तथा कर्मचारी सङ्घर्ष समिति, चैनपुरका संयोजक शिक्षक सूर्यबहादुर अधिकारीको संयोजकत्वमा शिक्षकहरूले मंसिर ५ गते शुक्रबार चैनपुर नगरपालिकाकै सभाहलमा एक औपचारिक कार्यक्रम गर्दै नगरपालिकाका नगरप्रमुख कृष्ण कुमार तामाङलाई शिक्षकहरूको तोकिएको स्थानीय भत्ता उपलब्ध गराउन मागपत्र बुझाएका छन् ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति–२०७१÷०३÷२९ को निर्णयअनुसार अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले मिति २०७१ साउन १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको कार्यक्रम कार्यान्वयन कार्यविधिको अनुसूची–१० मा स्थानीय भत्ता र भत्ता पाउने स्थानहरूको स्पष्ट यकिन गरिएको छ । सोहीअनुसार शिक्षकहरूले स्थानीय भत्ता पाउने जिल्लामा सङ्खुवासभा ‛ग’ वर्गमा राखिएको छ। चैनपुर नगरपालिकाका शिक्षकहरूले पनि ‛ग’ वर्गको स्थानीय भत्ता पाउनुपर्नेमा आजपर्यन्त पाउन सकेका छैनन् । निजामती कर्मचारीहरूले भने सो भत्ता लागू भएकै मितिदेखि खाईपाई आइरहेका छन् । यसै विषयमा देखिएको विभेदलाई चिर्न चैनपुर नगरपालिका र पालिका भित्रका शिक्षकहरूकाबीच शुक्रबार छलफल तथा अन्तरक्रिया भएको थियो।
कार्यक्रममा शिक्षकहरूले तोकिएको स्थानीय भत्ता पाउने या नपाउने भन्ने विषयमा चैनपुर नगरपालिकासँग स्पष्ट जवाफ मागेका थिए । ‛कार्यक्रम कार्यान्वयन कार्यविधि’मा स्थानीय भत्ताको सम्बन्धमा स्पष्ट निर्देशन भएको कुरा जिकिर गर्दै शिक्षकहरूले सो भत्ता उपलब्ध गराउन माग गरेका थिए ।
चैनपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत कमल गौतमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आफूहरूलाई निर्देशनसहितको कुनै पत्र नआएकाले सो भत्ता खुवाउन नसकिएको स्पष्टीकरण दिनुभयो । उहाले माथिल्लो निकायबाट निर्देशनसहितको पत्र आए आफूहरूलाई शिक्षकहरूको स्थानीय भत्ता खुवाउन कुनै अप्ठेरो नहुने बताउनुभयो।
शिक्षा शाखा अधिकृत गौतमले शिक्षकहरूलाई स्थानीय भत्तासहितको तलब मागफाराम पेश गर्न सुझाब दिनुभयो। यससँगै स्थानीय भत्ता पाउनेमा शिक्षकहरू आशावादी बनेको स्थानीय भत्ता पीडित शिक्षक तथा कर्मचारी सङ्घर्ष समिति,चैनपुरका संयोजक शिक्षक सूर्यबहादुर अधिकारीले बताउनुभयो ।
यसैगरी कार्यक्रममा लेखा अधिकृत, प्रमुख प्रशासकीय अधिकृत, नगर उपप्रमुख र नगर प्रमुखले समेत पालैपालो आफ्नो मन्तव्य राख्दै शिक्षकहरूले पाउने सुविधा उपलब्ध गराउने सन्दर्भमा आफूहरू सधैँ उदार रहेको तर माथिल्लो निकायबाट स्पष्ट निर्देशन नआउँदा आफूहरूनै अन्योलमा परेको बताएका थिए । यद्यपि आफूहरू शिक्षकहरूको हितको पक्षमा रहेको बताएका थिए ।
कार्यक्रममा नगर प्रमुख कृष्णकुमार तामाङ, नगर उपप्रमुख एलिना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, शिक्षा शाखा अधिकृत कमल गौतम, लेखा अधिकृत दिपेन्द्र चौलागाईं, विभिन्न शिक्षक हकहित समितिका शिक्षक पदाधिकारीहरूका साथ शिक्षक कर्मचारीहरूको उपस्तिथि रहेको थियो ।
त्यसैगरी सोही दिन धर्मदेवी नगरपालिकाका शिक्षकहरुले पनि स्थानीय भत्ता पाउनुपर्ने माग गर्दै नगरप्रमुख उदयचन्द्र पौडेललाई माग पत्र बुझाएका छन् । शिक्षकहरु आवद्ध विभिन्न संघ÷संगठन घटकका प्रतिनिधि र शिक्षकहरु सहित नेपाल शिक्षक महासंघको संघीय महाधिवेशन प्रतिनिधि दिव्यराज अधिकारीको व्याख्यात्मक प्रस्तुति सहित अध्यक्ष मण्डल मार्फत नगर प्रमुख पौडेल र प्रमुख प्रशासकीय अधिकृत प्रकाश गुरुङलाई संयुक्त रुपमा माग पत्र बुझाउँदै सबै प्रकृतिका शिक्षकहरुले नेपाल सरकारले तोकेबमोजिम स्थानीय भत्ता पाउनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन् ।



प्रतिकृया दिनुहोस